Logo

‘कथाले मागेपछि स्वार्थ मिल्नेसँग सहकार्य’



काठमाडौं, फागुन ९ । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको नेतृत्वमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको पार्टी पदाधिकारीको बैठकपछिको भनाइ हो यो।

एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। तर पुस २६ गतेसम्म आइपुग्दा विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले पनि दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो।

कांग्रेससहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघिका साझेदार दलहरूको पनि समर्थन पाएका दाहालले पूर्ववत् अवस्था परिवर्तन भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए। प्रतिनिधिसभाको सभामुख निर्वाचनअघि माघ ३ गते सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि बढाएका दाहालले पछिल्ला दिनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ हात बढाएका छन् भने एमालेसँग दुरी बढाउँदै लगेका छन्।

त्यसले एमालेलाई झस्काइरहेका बेला राष्ट्रपतिका विषयमा निर्णय लिन बोलाइएको बैठकको पूर्वसन्ध्यामा दाहालले कांग्रेस पदाधिकारी र नेकपा एसका अध्यक्षसँग छलफल गरेका थिए। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरूसँग छलफल गरेका दाहालले सोमबार सिंहदरबारमा नेपालसँग कुरा गरेका हुन्।

कांग्रेस नेताहरूलाई राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएका दाहालले सोमबार दिउँसो नेकपा एसका अध्यक्ष नेपालसँग राष्ट्रपति र उनको चाहनाका विषयमा छलफल गरेका छन्। त्यसलगत्तै पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री नियुक्त हुँदा अवस्था फेरिएको निष्कर्षसहित संविधान र शान्तिका पक्षधरसँग मिलेर राष्ट्रपति निर्वाचनमा जाने निष्कर्ष निकालेका छन्।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म पहल लिने भन्दै अन्तिम निर्णय लिने अधिकार दाहाललाई दिएको छ। दल र व्यक्तिका विषयमा केही उल्लेख नगरेका महराले राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने जनाए। ‘त्यस (राष्ट्रिय सहमति) का लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ,’ महराले सञ्चारकर्मीसँग भने, ‘हाम्रो स्वार्थ कोसँग मिल्छ, हेर्दै जानुहोला।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस नेतृत्वमा पाँच राजनीतिक दलले संविधानको रक्षाका लागि भन्दै नयाँ गठबन्धन निर्माण गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्दै उनकै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीसहितका दल गएका थिए। महराको पछिल्लो अभिव्यक्तिले कांग्रेस नेतृत्वमा रहेको गठबन्धनलाई फेरि निरन्तरता दिने माओवादी निष्कर्ष भएको कांग्रेस, नेकपा एससहितका नेताहरूको बुझाइ छ।  नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्