काठमाडौँ,९ फागुन । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।
गाउँपालिकाका प्रविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।
सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकरी दिए । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् । ती योजनामा रु नौ करोड १८ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । रासस