Logo

निजामतीमा तहगत प्रणालीको तयारी



काठमाडौं, फागुन १० । सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको छ । सबै कर्मचारीलाई एउटै प्रणालीमा राख्ने गरी श्रेणीगत प्रणाली हटाएर तहगत प्रणाली बनाउन लागेको हो । अहिले सङ्घमा कार्यरत स्वास्थ्य सेवाबाहेक सबै कर्मचारी श्रेणीगत, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तहगत प्रणाली कायम छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा राख्ने गृहकार्य भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अहिले ऐन ल्याउनका लागि मन्त्रालयले विभिन्न सरोकारवालासँग छलफल गरी आएका सुझावलाई एकीकृत रूपमा मस्यौदा तयार गरिरहेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले ऐनको सन्दर्भमा मन्त्रालयले विभिन्न पक्षसँग छलफल गर्दा विभिन्न सुझाव आएको र टे«ड युनियनले तहगत प्रणालीमा नै जानका लागि अलि बढी सुझाव दिएको बताए।

सबै कर्मचारीबीच एउटै प्रणाली राख्दा कुनै पनि कर्मचारीबीच विभेद भएको महसुस नहुने, कर्मचारीको मनोबल उच्च भई सेवा प्रवाहमा समेत गुणस्तरीयता आउने अपेक्षा मन्त्रालयले गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि तहगतमा नै भएकाले सरकारले ऐनमार्फत सबै कर्मचारीलाई तहगत प्रणालीमा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्