Logo

प्रहरी, प्रशासनले दुःख दिएको सुनचाँदी व्यवसायीको गुनासो



काठमाडौं, फागुन १० । विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी राज्यले तोकेको मापदण्ड अनुरूप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधि जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।

राज्यको नियम अनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साही बनाएर पेशाप्रति वितृष्णा पैदा गर्ने काम भएको ती संस्थाले जनाएका छन्। विदेशबाट विविधत रूपमा ल्याइएका गरगहना व्यवसायीको पसल, दोकानमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्नेबित्तिकै त्यसप्रति आशंका गर्ने, व्यवसायीलाई त्रसित र आतंकित बनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिने जस्ता कार्य निन्दनीय भएको भन्दै यस्ता कार्य रोक्न आग्रह गरेका छन्।

सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति गर्ने व्यवस्था गरेको छ। यो अपर्याप्त रहेको व्यवसायीको गुनासो छ। बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनमा १० देखि १५ किलोको कच्चा सुनको माग हुने गरेकाले कोटा बढाउन पनि माग गरेका छन्।

सुनचाँदी बजार एकाधिकार रूपमा परिमाणात्मक बन्देज ९कोटा० प्रणालीमा वाणिज्य बैंकहरूको मात्र एकल आपूर्तिबाट सञ्चालन हुँदै गर्दा निजीक्षेत्रले वैधानिक रूपमा पेशा व्यवसाय दर्ता गरेर बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजारमा अन्याय भएको व्यवसायीले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot