काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले राष्ट्रपतिमा आफ्नै दलको उम्मेदवारी रहने प्रस्ट पारेका छन् ।
‘राष्ट्रपतिमा नेपाली कांग्रेसको दाबी शक्ति सन्तुलनका हिसाबले पनि जायज छ । सबैभन्दा मतभार भएको पार्टीले राष्ट्रपतिमा दाबी नगरे कसले गर्छ ? हामीसँग मतभार कम भए कोसँग बढी छ त ? हामी लोकतान्त्रिक अभ्यास र परम्परा अनुसार सबै दलसँग छलफल गरेर सहमतिमा अघि बढ्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गौतमले भने ।
माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेर केपी शर्मा ओलीले कार्ड मात्र फालेको उनले औंल्याए । नेता गौतमले भने, ‘केपीले बिहान के कार्ड फाल्नुहुन्छ, दिउँसो के फाल्नुहुन्छ ? बेलुकी के कार्ड फाल्नुहुन्छ ? यो केपीको कार्ड मात्र हो भन्ने माधव नेपालले पनि बुझ्नुभएको छ । हामीलाई माधव नेपाल र प्रचण्डजीले पनि सहयोग गर्नुहुन्छ । हामी हिजो पनि सँगै थियौं, भोलि पनि सँगै हुन्छौं । हामीबीच राम्रो समझदारी छ ।’
राष्ट्रपति निर्वाचनमा पार्टीभित्र अभूतपूर्व एकता भएकाले सर्वसम्मत उम्मेदवार बन्ने पनि उनले बताए । गौतमले भने, ‘हामी कोर्स करेक्सनको बाटोमा छौं । सबैसँग सम्पर्कमा छौं । सम्मानजनक परिस्थिति निर्माण गर्छौं । हाम्रा नेताहरुबीच कुनै विवाद छैन । सभापतिजीले इच्छा राख्नुभयो भने रामचन्द्र दाइ आफैंले प्रस्ताव राख्नुहुन्छ नि । परिस्थिति के हुन्छ, त्यस्तो हतार गरिहाल्नुपर्ने केही छैन ।’
अब कांग्रेसकै नेतृत्वमा मुलुकले अग्रगमनको बाटो लिने दाबी पनि उनले गरे । गौतमले भने, ‘नेपाली जनताको बीचमा जे बाचा गरेका छौं, त्यो पूरा गर्छौं । हामी जनतामा आशाको सञ्चार गर्ने पक्षमा छौं ।’