Logo

माधव नेपाल र केपी ओली भेट्दा, एकीकृत समाजवादीले राष्ट्रपति पाउँदा र पार्टी एकता हुँदा कुनै पहाड खस्ने वाला छैनः किसान श्रेष्ठ



काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो घरमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता भएको घुमाउरो तरिकाले स्वीकार गरेका छन् ।
‘केपी ओली र माधवकुमार नेपालबीच मात्र होइन, माधव नेपाल र शेरबहादुर, प्रचण्ड र माधव नेपालबीच पनि भेट हुन्छ नि । राजनीतिक कुराकानी, भेटवार्ता हुनु स्वाभाविक हो नि । यो कहाँ, कहिले भयो, सूचना सही वा गलत हो, तपाईं नै जान्नुस् । महाराजगन्जमा मेरो मात्र घर छ र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
माधव नेपाललाई राष्ट्रपति दिन ओली तयार भएको हो भन्ने प्रश्नमा उनले भने, ‘केपी ओली तयार हुनुभयो कि भएन, त्यो मेरो लेबलले भन्ने कुरा होइन । दुई ठूला नेताहरु बसेर गरेको कुराकानी मलाई कहाँ थाहा हुन्छ ? यो कुरा मलाई भन्दा नेताहरुलाई नै सोध्नुस् न । माधव नेपाल र केपी ओलीले भेट्दा, एकीकृत समाजवादीले राष्ट्रपति पाउँदा र पार्टी एकता हुँदा कुनै पहाड खस्ने वाला छैन । पार्टी फुटेकै दिनदेखि एकताको खोजी भएको हो नि ।’
आफू आफ्नो पार्टीले निर्विरोध राष्ट्रपति पाउनुपर्छ भन्ने पक्षमा उभिएको श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो चाहना राष्ट्रिय सभाको उपाध्यक्ष पदमा जस्तै राष्ट्रपति पनि निर्विरोध होस् भन्ने हो । मैले माधवकुमार नेपाललाई भन्दा पनि एकीकृत समाजवादीलाई राष्ट्रपति चाहिन्छ भनेर केपी शर्मा ओलीलाई मात्र होइन, प्रचण्ड, शेरबहादुर देउवा र उपेन्द्र यादवलाई पनि भनेको थिएँ । मेरो पार्टीलाई राष्ट्रपति बनाउनुपर्छ भनेर लबिङ गर्दा के अपराध गरें मैले ?’ आफ्नो पार्टीले राष्ट्रपति पाउने निश्चित भएपछि उम्मेदवार तय हुने पनि उनले सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot