Logo

बालुवाटारमा ओली पुग्दा प्रचण्ड अस्वस्थ, राष्ट्रपतिमा माधव नेपालबारे नसोचेको ओलीको जवाफ



काठमाडौं, १० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य दल र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिमा नाम सिफारिश नगरेको खुलेको छ । यसअघि ओलीले माधव नेपाल, अमिक शेरचन, बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउनेगरि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्ताव गरेको कुरा बाहिरिएको थियो । तर, आज बालुवाटारमा प्रधानमन्त्री दाहालसँगको भेटमा उनले एमालेकै उम्मेदवार राष्ट्रपतिमा उठ्ने भन्दै सहयोग गर्ने पूर्व सहमति पालना गर्न दबाब दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहाल अस्वस्थ भएको कारण बालुवाटारमै आराम गरेका थिए । ओलीसँगको भेटवार्ता ओली बालुवाटार पुगेको आधा घण्टा ढिला गरी सुरु भएको थियो । सो भेटमा ओलीले पुष १० गतेको सहमतिबाट दायाँबायाँ नगर्न दाहाललाई आग्रह गरेका थिए । उनले कांग्रेसको लहैलहमा नलाग्नसमेत दाहाललाई आग्रह गरेको बुझिएको छ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्ने अडानमा रहेका प्रधानमन्त्री दाहालपनि आँफै दबाबमा परेका छन् । उनले कुनैपनि हालतमा एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा नसघाउने अडान लिएका छन् । आजको छलफलमा ओलीले आफूले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सार्न नखोजेको पनि स्पष्ट पारेका थिए ।

बरु, माधव नेपाललाई पनि कुनै न कुनै रुपमा मिलाएर लैजाने पक्षमा आफूपनि रहेको उनको भनाई थियो । ओलीले माधव नेपालको दललाई उपराष्ट्रपति दिएर जान सकिने सोच बनाएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्डले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने मन बनाएका छन् ।

पार्टीले पनि राष्ट्रपतिबारे निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष दाहाललाई दिएको छ । ओली र दाहालबीच आज अढाई घण्टा लामो छलफल चलेको थियो । त्यसअघि दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटेका थिए ।

राष्ट्रपतिको निर्वाचनको मुखमा चिनियाँ राजदूतको दौडधुप, ओली र दाहालसँगको तारन्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीभित्र वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायत एमालेसँगको गठबन्धन बचाएर जानुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot