काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको बेलामा प्रचण्डले भने कांग्रेसको उम्मेदवारलाई सघाउने तयारी गरेको माओवादीनिकट उच्च स्रोतको दाबी छ ।
पछिल्लो समय प्रधानमन्त्री दाहालसँग कांग्रेस महामन्त्री गगनकुमार थापाले निरन्तर भेटवार्ता गरिरहेका छन् । उनको अलावा उपसभापति पूर्णबहादुर खड्काले पनि दाहालसँग भेटवार्ता जारी राखेका छन् । थापा र खड्कासँगको भेटमा दाहालले राष्ट्रपतिमा कांग्रेसलाई नै सहयोग गर्ने वचन दिएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्दा राम्रो हुने सन्देश प्रवाह गरेका छन् ।
यदि देउवा नमानेको खण्डमा भने उनले कृष्णप्रसाद सिटौलाको नाममा सहमति जुटाउन सहज हुने सन्देश पठाएका छन् । कांग्रेसले भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सार्ने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री दाहालले भने पौडेलभन्दापनि सभापति देउवाकै नाम पहिलो प्राथमिकतामा राखेका छन् । देउवा नमाने सिटौलालाई सहयोग गर्ने उनको तयारी छ ।
शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौला प्रचण्डसँग नजिक मानिन्छन् । कांग्रेसमा शेखर कोइराला समूहले पनि सभापति देउवालाई राष्ट्रपतिमा गएर सम्मानजनक रुपमा पार्टीको सक्रिय राजनीतिबाट विदा लिन सुझाएको छ । केही दिनअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा राष्ट्रपति बने पार्टीको लागि पनि राम्रो हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
उनले आफूले देउवासँगको भेटमा पनि सोही प्रस्ताव गरेको तर देउवाले नमानेको खुलासा गरेका थिए । आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटमा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चा छ ।
माधवसँगै उनले सुवासचन्द्र नेम्वाङको पनि नाम लिएका थिए । ओलीले प्रचण्डलाई पुष १० गते भएको सहमतिअनुसार अघि बढ्न सुझाएका थिए । ओलीसँग भेटवार्ता गरेका दाहालले भने कांग्रेसलाई राष्ट्रपति दिने मन बनाईसकेका छन् ।