Logo

चक्रपथ विस्तारः सरकारले बढायो सक्रियता



काठमाडौं, फागुन ११ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ ।

चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ ।

नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा विस्तार गर्न लागिएको सडकखण्डको आज स्थलगत निरीक्षण गर्न लागिएको छ । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठसँगै चिनियाँ राजदूत ‘छन् सङ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत नेपालका लागि सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत आफूले गर्नुपर्ने साइट क्लियरको कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकेको छैन ।

साइट क्लियरको काम सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तारको कार्य अघि बढाउन अनुरोध गरेको थियो । चिनियाँ पक्षले भने शतप्रतिशत साइट क्लियर नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।

नेपाल सरकारले साइट क्लियरको काम सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्किएर गएको छ ।

करिब एक वर्षअघि पनि नेपाल पक्षले चिनियाँ पक्षलाई विस्तारको काम हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूमा रहेका दुईवटा बिजुलीका पोल नहटाएको भन्दै त्यस समयमा चिनियाँ पक्ष फिर्ता भएको थियो ।

एक वर्षको बीचमा नेपाल पक्षले बिजुलीका पोल भूमिगत गर्ने कार्य भने सम्पन्न गरेको छ । तर, आयोजनाअन्तर्गत विभिन्न ठाउँमा मठमन्दिर रहेका छन् भने स्वयम्भूको पुरातात्विक सम्पदा क्षेत्रभित्र पर्ने भाग र महाराजगन्जस्थित जग्गाको मुआब्जा विषय अझै टुंगिन सकेको छैन ।

आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिँदै आएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्