Logo

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता



काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् ।
‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो ? अहिले के कारण जाँदै हुनुहुन्छ ? एक महिना अघि एउटा सहमति गर्ने, अहिले अर्कै कुरा गर्ने अत्यन्त दाउपेच र स्वार्थी राजनीति कति परसम्म जान्छ ? उहाँले त्यसो गर्नुभयो भने हाम्रो पार्टी निर्णय लिन स्वतन्त्र छ । हामी कसैको दबाब वा प्रभावमा छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टराईले भने ।
कांग्रेस र माओवादीको गठबन्धन बने पनि एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने पनि उनले बताए । भट्टराईले थपे, ‘हो, उहाँहरुले फेरि गठबन्धन बनाउने कोसिस गर्नुभएको छ । तर परिणाम नआईकन टिप्पणी गर्नु धेरै हतारो हुन्छ । त्यस्तो गठबन्धन बनिहालेछ भने पनि नेकपा एमाले मन पराएको पार्टी हो । एमालेले उम्मेदवारी नदिनुपर्ने कारण के छ र ?’
एमालेले राष्ट्रपतिमा माधव नेपाललाई किन अघि सारेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, ‘राष्ट्रपतिका निम्ति एकल बहुमत पुग्ने मतभार हामीसँग छैन । त्यसकारण अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौं । त्यो एमालेभित्र वा बाहिर रहेको हुन सक्छ । पहिलो प्रयास पुस १० को सहमतिलाई जोगाएर जाऊँ भन्ने हो । त्यो नभएका अवस्थामा जित्ने र उचित व्यक्तिको छनोट गर्छौं । तर अहिले नै व्यक्तिका बारेमा बोल्ने स्थिति छैन ।’
प्रचण्डलाई उनले राजनीतिक नैतिकता देखाएर पुस १० को सहमति अनुसार अघि बढ्न पनि आग्रह गरे । उनले भने, ‘प्रचण्डले पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन मलाई थाहा छैन । उहाँसँग नजिक भएका मानिसहरुले भएको थिएन भनिरहेका छन् । त्यो सहमतिमा राजेन्द्र लिङदेन र रवि लामिछाने नै साक्षी हुनुहुन्छ । एमालेभन्दा तेब्बर सिट कम भएको पार्टीले प्रधानमन्त्री लिने अनि राष्ट्रपति पनि आफूले भनेको व्यक्ति हुनुपर्छ भन्न मिल्छ ?’
राष्ट्रपतिका निम्ति अत्यधिक चलखेल भइरहेको आरोप पनि उनले लगाए । भट्टराईले भने, ‘हो, राष्ट्रपतिका निम्ति छिमेकीहरुको चासो छ । तर, राजदूतहरुले यसकै निम्ति भेटघाट गरिरहेका छन् भन्ने पनि होइन । अरु देशका राजदूतले गोप्य मन्त्रणा गर्दा पनि केही हुँदैन, चिनियाँ राजदूतको भेटलाई मात्र किन हाई साउन्डिङ गरिएको हो भन्ने मैले बुझेको छैन ।’

 



प्रतिक्रिया दिनुहोस्