Logo

राष्ट्रपति निर्वाचन : कांग्रेसभित्र पौडेल र सिटौलाबीच प्रतिस्पर्धा



काठमाडौं, फागुन १२ । आगामी राष्ट्रपतिको उम्मेदवारका विषयमा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिष्पर्धा चलेको छ । सत्ता गठबन्धन भत्कने र पुरानो पाँच दलीय गठबन्धन ब्युँतिने खेल शुरू भएपछि कांग्रेसले राष्ट्रपति पाउने सम्भावना बढेसँगै नेताहरूबीच उम्मेदवारीका लागि प्रतिष्पर्धा चुलिएको हो ।

कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले बाहिर हल्ला भएजस्तो आन्तरिक समस्या नभएको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीभित्र सामान्य प्रतिष्पर्धा स्वभाविक हो । तर, हामी अरू दलहरूसँगको छलफल निष्कर्षमा पु¥याउनासाथ आफ्नो उम्मेदवार टुंगो लगाउँछौं ।’

कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्युँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने उम्मेदवारले नै जित्ने सम्भावना बलियो बन्दै गएको कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुरानो पाँच दलीय गठबन्धन ब्युँतने सम्भावना बलियो बन्दै गएको जिकिर गर्दै भने– र्टीका शीर्ष नेताहरू उम्मेदवारको विषयमा सहमति छुटाउन छलफलमै छन् ।

अहिलेसम्म अन्य दलहरूसँग सहकार्यको समेत छलफल भइरहेकाले शुक्रबार निर्णय हुन्छ । राष्ट्रपतिका लागि पार्टीमा वरिष्ठ नेता पौडेलकै सम्भावना बलियो छ । नेता सिटौला पनि योग्य हुनुहुन्छ ।’ यद्यपि, वर्तमान सत्ता गठबन्धन फुटिहालेको अवस्था भने छैन ।

पछिल्लो राजनीतिक कोर्स परिवर्तनप्रति कांग्रेसका नेताहरू उत्साहित देखिएका छन् । कांग्रेसमा गोपालमान श्रेष्ठ, मानबहादुर विकलगायत नेताहरूको समेत नाम चर्चामा आए पनि वरिष्ठ नेता पौडेलसँगै नेता सिटौलाबीच नै प्रमुख प्रतिस्पर्धामा देखिएको छ ।

कांग्रेस र माओवादीबीच बुधबार राती पाँच दलीय गठबन्धन ब्युँताउने र गठबन्धनका तर्फबाट कांग्रेसले राष्ट्रपतिमा शनिबार उम्मेदवारी दर्ता गर्ने मौखिक सहमति भइसकेको नेताहरूले बताएका छन् । उक्त समझदारी बनेसँगै कांग्रेसभत्रिको आन्तरिक राजनीतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रुचि र बाह्य शक्तिको समेत चासोे बढेको छ ।

प्रधानमन्त्री प्रचण्ड र छिमेकी शक्ति राष्ट्र भारतले सिटौलालाई बनाउने चाहना बढेकोले पौडेललाई समस्या हुन सक्ने श्रोतको दाबी छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका सिटौलाको रहेको र प्रचण्डसँग व्यक्तिगत रूपमा समेत राम्रा सम्बन्ध भएका कारण सिटौलाको पक्षमा दाहाल बढी लचक देखिएको बताइएको छ । नेपाल समाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्