Logo

माधव नेपालको योगदानप्रति एमालेले गर्व गरेको सूर्य थापाको भनाई (भिडिओसहित)



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं संघीय सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो गल्ती महशुस गर्ने बेला आएको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्ष नेपालप्रति पार्टी फटाएकोमा आक्रोश भएपनि उनले एमालेमा गरेको त्यागप्रति सम्मान रहेको बताएका हुन् ।

साथै,अध्यक्ष नेपालको बल एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटमा रहेको उनले टिप्पणी गरेका छन् । ‘माधवकुमार नेपालले आफ्नो जीवनको एउटा कालखण्डमा गरेको भयानक गल्ती सच्याउन उहाँले अहिले सक्नुहुन्छ । दुनियाले बुझेका छन्, पार्टी फुटाएको सजाय उहाँले पाइसक्नु भएको छ । अब उहाँले आफूलाई सच्याउने, आफ्नो गल्तीप्रति प्रायश्चित गर्ने हो । शब्दमा परेन, वक्तव्य बाजी परेन, उहाँको व्यवहारले माधव कुमार नेपालको बल चाहिँ उहाँ (केपी ओली) को कोटमा छ,’– उनले भने ।

नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा अध्यक्ष नेपालको हात रहेको उनको आरोप छ । अध्यक्ष नेपाललाई त्यो काशी जाने बाटो होइन भन्ने अनुभव भइसकेको उनको दाबी छ । ‘नेपाली कांग्रेसलाई प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ठाउँमा पुर्याउने काम माधव कम्रेडले गर्नु भएको हो । माधव नेपाल अब यो काशी जाने बाटो होइन रहेछ भनेर फर्किनुहुन्छ भने ठीक छ । उहाँ फर्किए सुध्रिनु हुन्छ । सुध्रिए राम्रो नसुध्रिए झनै राम्रो,’– उनले भने ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता नरहेको उनको दाबी छ । माधव नेपालले रियालाइजेशन गरेको खण्डमा माधव नेपाललाई एमालेले समर्थन गर्ने उनले बताए । माधव नेपालले पार्टी फुटाएको प्रतिमात्रै एमालेको आक्रोश भएको र उनको योगदानप्रति एमालेले गर्व गरेको उनले बताए । माधव नेपाललाई कांग्रेस, माओवादी कसैले पनि राष्ट्रपति नबनाउने उनको दाबी छ । आत्मसमीक्षा गरेर एमालेसँग सहयोगको लागि तयार भएमा उनलाई सहयोगका लागि एमाले तयार रहेको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्