काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी थालेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार भने भोलि विहान ९ बजे टुँगो लगाउने भएको छ । कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दाबी छ । तर, सभापति शेरबहादुर देउवाले भने पौडेललाई राष्ट्रपतिमा वचन दिइसकेका छन् । एमाले, रास्वपा र राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिको निर्वाचनको मुखमा आएपछि उक्त गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका हुन् ।
नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी छन् । प्रधानमन्त्री दाहालले राप्रपाका मन्त्रीहरुलाई संविधान र व्यवस्थामाथि नै प्रहार गरेको भन्दै उनीहरुलाई सरकारबाट हटाउने संकेत गरेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए ।
एमालेले भने नयाँ गठबन्धन बनेसँगै सरकारबाट भोलि नै फिर्ता हुने निर्णय गर्दैछ । भोलि एमालेको सचिवालय बैठक बस्दैछ । सो बैठकले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिनेबारे पनि निर्णय गर्दैछ ।
राप्रपालाई हटाएर पहिलो चरणमा कांग्रेसलाई सहभागी गराउने दाहालको तयारी छ ।यसको लागि उनले आजै देउवा र माधव नेपालसँग पनि छलफल गरेका थिए । एमालेले भोलि नै सरकारबाट बाहिरिने निर्णय गरे कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा मन्त्रीहरु सहभागी गराउने दाहालको योजना छ । file photo