Logo

माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार



काठमाडौं, फागुन १३ । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यिनीहरूमध्ये धनुषाका ३ हजार २ सय ४७ जना छन् । जसमा पुरुष ३ हजार २ सय २८ र महिला १९ छन् ।

वैदेशिक रोजगारमा जान चाहने जिल्लाका रूपमा झापा दोस्रो स्थानमा रहेको छ । झापामा २ हजार ८ सय ४१ जनाले श्रम स्वीकृति पाएका छन् । झापाका २ हजार ३ सय ७४ जना पुरुष र ४ सय ६७ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

सिराहाका २ हजार ४ सय २७ जनाले माघ महिनामा श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २ हजार ४ सय १२ र महिला १५ जना रहेका छन् ।

मोरङका २ हजार ८५ जना पुरुषले श्रम स्वीकृति लिँदा २ सय ९३ जना महिला वैदेशिक रोजगारमा जान तयार भएका छन् । सो जिल्ला वैदेशिक रोजगारमा जान चाहनेहरू जिल्लामध्ये चौंथो स्थानमा छ । त्यहाँबाट २ हजार ३ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् ।

महोत्तरीका २ हजार ३ सय ३७ जनामध्ये २७ जना महिला र २ हजार ३ सय १० जना पुरुषले माघ महिनामा श्रम स्वीकृति पाएका छन् ।

माघ महिनामा सर्लाहीका १ हजार ९ सय २४, सुनसरीका १ हजार ८ सय २०, सप्तरीका १ हजार ७ सय ७०, रूपन्देहीका १ हजार ७ सय १५ र दाङका १ हजार ५ सय २५ जनाले माघ महिनामा श्रम स्वीकृति पाएका छन् ।

१ हजारभन्दा वढीको संख्यामा श्रम स्वीकृति पाउने जिल्लामा क्रमशः चितवन, बागलुङ, तनहुँ, स्याङजा, बारा, रौतहट, कपिलवस्तु, मकवानपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुपाल्चोक, कास्की र उदयपुर छन् ।

श्रम स्वीकृति लिएर बिदेसिन चाहनेमध्ये कम संख्या रहेको जिल्लामा मुस्ताङ रहेको छ । मुस्ताङका ११ पुरुष र ६ महिला गरी १६ जनाले माघ महिनामा श्रम स्वीकृति लिएका छन् ।

यसैगरी, रुकुमका १८ पुरुष र १ महिलाले श्रम स्वीकृति लिएका छन् । कम संख्यामा श्रम स्वीकृति लिने जिल्लामा क्रमशः मनाङ, मुगु, नवलपरासी, डोल्पा, हुम्ला, कालिकोट, डोटी, जुम्ला, रसुवा, रुकुम पूर्व, डडेल्धुरा, बाजुरा, दार्चुला, बझाङ, रुकुम पश्चिम र अछाम रहेको छ ।

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने महिलाको संख्या मात्र माघ महिनामा ५ हजार ८ सय ३७ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार मुगुका कुनै पनि महिलाले माघमा श्रम स्वीकृति पाएका छैनन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot