Logo

राष्ट्रपतिमा कांग्रेसका पौडेलले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री प्रचण्ड प्रसन्न मुद्रामा (फोटोफिचर)



काठमाडौं, १३ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन् ।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।

पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल भने प्रसन्न मुद्रामा देखिएका थिए । उनले आफूनिकट नेताहरुसँग एमालेसँगको गठबन्धन तोडेर रिल्याक्स महशुस गरेको बताउने गरेका छन् ।

वरिष्ठ नेता पौडेल गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका थिए । उनी यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसबीचमा उनी उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् । उनले सभामुखको जिम्मेवारी निभाएका थिए ।

विसं २००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । कांग्रेसद्वारा सञ्चालित २०१८ को क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए ।

विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए ।

उनी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ ९२०२० सन्० बाट सम्मान भएका थिए । उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot