Logo

महेश बस्नेतको टिप्पणी : एमालेले प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्मको लागि अन्तिम मौका दिएको छ (भिडिओसहित)



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले नै एमालेसहितको गठबन्धन तोड्न लागेको टिप्पणी गरेका छन् । यद्धपी बस्नेतले अहिलेको सत्ता गठबन्धन तोडिएको भनेर भन्न नमिल्ने बताए । आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्मको लागि अन्तिम मौका दिएको पनि उल्लेख गरे । उनले भने,उहाँले आफूलाई सच्याउने स्थिति भयो भने एउटा कुरा हुन्छ, नहुँदाखेरि एमाले सत्तालिप्सामा लागेर टाँसिएर बस्ने स्थिति हुँदैन् । र, यो कुरा मुलुकको दुर्भाग्यसँगै प्रचण्डको पनि दुर्भाग्य सुरु हुन्छ भन्ने लाग्छ ।

नेता बस्नेतले प्रचण्डले उनको बारेमा आम रुपमा के टिप्पणी भैरहेको छ भनेर बुद्धिजिवीहरुको तर्क सुन्नुपर्ने सुझाव दिएका छन् । पछिल्लो समय प्रचण्डको शैलीप्रति कस्तो कटाक्ष आईरहेको छ भनेर पनि बुझ्न बस्नेतको सल्लाह छ । उनले प्रचण्डले दुई महिनामै छेपारोजस्तो रंग फेरेको आरोप लगाए ।

उनले आफूहरुले प्रचण्डको बारेमा तथ्यमा आधारित आलोचना गरेको दाबी गरे । उनले आफ्नो दलविरुद्ध आठ उभिने स्थिति बनेपनि आफूहरु बलियो भएर अघि बढ्ने बताए । उनले पार्टीलाई आफूहरुले नयाँ उचाईमा पुर्याउने सुनाए । उनले अब प्रचण्डको छेपारो प्रवृत्तिले उनीप्रति कसैलेपनि सहानुभूति नदेखाउने दाबी गरे ।

अबको दुई महिनाभित्रै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई संविधानको धारा ७६ को ३ अनुसार आफ्नै नेतृत्वमा सरकार बनाएर गलहत्याउने सनसनीपूर्ण टिप्पणी गरे । बस्नेतले अब प्रचण्ड “दुई वटा श्रीमतीको पोई, भित्तामा बसी रोइ” को स्थितिमा पुग्ने दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot