Logo

राष्ट्रपतिका पाँच आकाङ्क्षी, प्रस्तावक र समर्थक नपाएपछि दुई जनाको मात्रै उम्मेदवारी दर्ता



काठमाडौं, फागुन १४ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउन पाँच जना आकाङ्क्षी पुगेका थिए। पाँचै जनाले मनोनयन दर्ता फाराम लगे पनि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भयो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेघराज आचार्य, राजीराय यादव र लक्ष्मी प्रसादले उम्मेदवारी दर्ता गराउने भन्दै मनोनयन फाराम लगेका थिए। तर प्रस्तावक र समर्थक नपाएपछि उनीहरूको उम्मेदवारी दर्ता भएन।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन–२०७४ का अनुसार दुवै पदमा उम्मेदवारी दिन पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक हुन्छ। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दिँदा आवश्यक पर्ने प्रस्तावक र समर्थक भने ऐनबमोजिम आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा समाविष्ट ८८२ मतदातामध्येका व्यक्ति नै हुनुपर्छ। दुवै पदको मतदाता सङ्घीय संसद् वा प्रदेश सभाका सदस्य रहने व्यवस्था छ।

प्रस्तावक र समर्थक नपाएकाले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेको आचार्यले बताए। राजीराय यादव र लक्ष्मी प्रसादले पनि प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी दर्ता गराउन पाएनन्। निर्वाचन अधिकृतको कार्यालयकी प्रवक्ता अमृता भण्डारीका अनुसार आचार्यको निवेदन रितपूर्वक नआएको र बाँकी दुई जनाले मनोनयन फारम लगे पनि दर्ता गराउन आएनन् ।



प्रतिक्रिया दिनुहोस्