काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।