Logo

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु



काठमाडौँ,१४ फागुन । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् ।

विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् ।

हरेक दिन चार नाटक मञ्चन हुने सो उत्सवमा उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछन् भने नाटक लेखन, अभिनय र निर्देशनका बारेमा प्रशिक्षणसमेत सञ्चालन हुनेछ । पश्चिम बङ्गालका प्रसिद्ध नाट्यकर्मी विश्वजित रोयले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाउँदै अध्यक्ष नेपालले उत्सवमा मेचीनगरको परिवर्तन थिएटर र दमकको कदम थिएटरले आफ्नो नाटक प्रस्तुत गर्ने जानकारी दिइन् ।

झापाका मेचीनगर, विर्तामोड र दमकका कलाकर्मीले थिएटर स्थापना गरेको भए पनि मेचीनगर नगरपालिकाबाट नाटक घर निर्माणका लागि पाँच वर्षदेखि आश्वासन मात्र पाइरहेको अध्यक्ष नेपालले गुनासो गरे ।

कोभिड–१९ को महामारी फैलिए यता नाट्य क्षेत्रसमेत सङ्कटमा परेको छ । लामो अन्तरालपछि पहिलो पटक विद्यालयस्तरीय नाट्य उत्सव गरिएको उनले बताए । “एउटा नाटक घर बनाउन बजेट दिनुहोस् भनेर विगत पाँच वर्षभित्र दर्जनौँ फाइल पेस गरेर प्रस्ताव लग्यौँ”, एक दशकदेखि नाट्य विधामा समर्पित परिवर्तन थिएटरकी अध्यक्ष नेपाल भन्छिन् ।

नेपालमा रङ्गकर्मी नाटक देखाएर जीवन धान्नसक्ने अवस्थामा नरहेको बताउँदै उनले समाज रुपान्तरण र जनचेतना अभिवृद्धिको सशक्त माध्यमका रुपमा रहेको नाट्य कलाप्रति राज्यका सबै तहले उपेक्षा दर्शाउँदा कलाकार पलायन भइरहेको गुनासो गरिन् । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot