Logo

तीन वर्षमा नेपालको आर्थिक वृद्धि ८ प्रतिशत हुने



काठमाडौं, फागुन १५ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक वृद्धि हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएकोमा चालू आर्थिक वर्षमा हालको तथ्यांकअनुसार ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ दशमलव ४ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

विश्व बैंकले भने आगामी आर्थिक वर्षमा ४ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरको छ । चालू आवमा भने ५ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

राष्ट्रिय योजना आयोगले कृषि क्षेत्रको आर्थिक वृद्धि कम हुने र गैरकृषिको बढी हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र हुनेछ भने त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः ३.८ र ३७ प्रतिशत हुनेछ । यसैगरी, उद्योग क्षेत्रको आर्थिक वृद्धि भने गत आर्थिक वर्षमा १०.२ प्रतिशत रहेकोमा चालू आवमा १०.३ हुने अनुमान गरिएको छ । यसैगरी, आगामी आवमा उद्योग क्षेत्रको आर्थिक वृद्धि ६.८ मात्र हुने भने आर्थिक वर्ष २०८१/८२ मा ९ प्रतिशत पुगेर आर्थिक वर्ष २०८२/८३ मा ९.३ पुग्नेछ ।

सेवा उद्योगको आर्थिक वृद्धि गत आवमा ५.६ प्रतिशत रहेकोमा चालू आवमा ५.९ प्रतिशत पुग्ने जनाइएको छ । तत्पश्चात् क्रमिक रूपमा ६, ९ प्रतिशत हुँदै ९.३ प्रतिशत हुनेछ ।

प्रतिव्यक्ति आम्दानीमा पनि वृद्धि हुँदै जाने अनुमान समितिले गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार गत आवमा नेपाली जनताको समष्टिगत प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ रहेकोमा चालू आवमा १ हजार ४ सय ३४ पुग्नेछ ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ७२ डलर पुग्ने र आव २०८१/८२ मा १ हजार ७ सय ४० पुग्ने अनुमान गरिएको छ भने आव २०८२/८३ मा १ हजार ९ सय ३५ डलर पुग्ने अपेक्षा गरिएको छ ।

आयोगले आगामी आर्थिक वर्ष उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । चालू आर्थिक वर्ष भने मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहने आयोगको अनुमान छ । त्यस्तै, आव २०८१/८२ र २०८२/८३ मा समान ६ प्रतिशत मूल्यवृद्धि हुने आयोगको प्रक्षेपण छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्