Logo

राष्ट्रपति निर्वाचनका लागि आठ दलको कार्यदल



काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कार्यदल बनाएको छ । गठबन्धनमा आबद्ध संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मत राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पार्न आठ दलले कार्यदल बनाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन आबद्ध आठ दलको संयुक्त बैठकले आठै दलबाट एक÷एक जना प्रतिनिधि रहनेगरी कार्यदलको संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई बनाएको हो ।

खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

कार्यदलका संयोजक रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलले आठ दलभित्र राष्ट्रपति निर्वाचनका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने जानकारी दिए ।

‘कार्यदलले गठबन्धनमा आबद्ध सबै दलमा राष्टपति निर्वाचनका लागि समन्वयकारी भूमिका निर्वाह गर्छ, कार्यदलले सांसदलाई निर्वाचनका लागि ब्रिफिङ पनि गर्नेछ,’ कार्यदलका संयोजक खड्काले राजधानीसँग भने ।

कार्यदलले १८ फागुनमा संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ फागुनमा सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णयसमेत गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । सातै प्रदेशमा हुने ती कार्यक्रममा गठबन्धन आबद्ध दलका नेता सहभागी हुनेछन् ।

यसैगरी, गठबन्धन बैठकले संघ तथा प्रदेशसभाका सांसदलाई २३ फागुनसम्म काठमाडौं आउन आआफ्नो दलमार्फत निर्देशन दिने निर्णय गरेको छ । यस्तै, राष्ट्रपति निर्वाचनको अघिल्लो दिन २४ फागुनमा सबै सांसदलाई काठमाडौंमा ब्रिफिङ गरिने र राष्ट्रपतिका उम्मेदवार पौडेललाई मत दिन आग्रह गरिने श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी ८ सय ८२ जना मतदाता कायम भएका छन् । निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले गत शुक्रबार नै मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्