Logo

एमाले सरकारबाट बाहिरिएसँगै अर्थमन्त्रीमा जनार्दन शर्माको चर्चा, देउवा पनि सकारात्मक



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने एमालेको निर्णय छ । योसँगै प्रधानमन्त्री दाहालले कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी), लोसपालाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् ।

बालुवाटारनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय आफ्नो दलले नै राख्ने तयारी गरेका छन् । उनले अर्थमन्त्रीमा जनार्दन शर्मालाई ल्याउनसक्ने चर्चा सुरु भएको छ । एमाले गठबन्धन तोडेर कांग्रेससँगको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको कारण शर्मालाई अर्थमन्त्री बनाएर पुरस्कृत गर्ने दाहालको तयारी छ । अहिले दाहाल नेतृत्वको सरकारमा एमालेबाट विष्णु पौडेल अर्थमन्त्री थिए । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाउने कार्यक्रम तय भएको छ ।

जनार्दनलाई अर्थमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवापनि सकारात्मक रहेको चर्चा छ । यसअघि देउवा नेतृत्वको सरकारमा शर्मा अर्थमन्त्री थिए । कांग्रेस गृहमन्त्रालय लिएर सरकारमा जाने तयारीमा छन् । कांग्रेसले भने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने तयारी थालेको छ ।

यसको लागि सभापति देउवाले आज प्रधानमन्त्री दाहालसँग आन्तरिक छलफल गर्ने भएका छन् । रास्वपा, राप्रपा र एमालेले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । अब हुने मन्त्रिपरिषद् विस्तारमा भने जसपाले पनि सहभागिता जनाउने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्