Logo

प्रधानमन्त्री प्रचण्ड एमाले मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा थिए



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्तासँगै पुष १० गतेको समिकरण भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरेसँगै पुष १० गते बनेको गठबन्धनमा फेरबदल आएको हो ।

रामचन्द्र पौडेलले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चासहित ८ दलको समर्थन र प्रस्तावमा राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

उता, एमालेबाट भने सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले राष्ट्रपतिमा नेम्वाङले नै जित्ने दाबी गर्दै आएको छ । यो बीचमा एमालेले सरकारलाई दिएको समर्थन कायमै राख्ने भनेको थियो । तर, प्रधानमन्त्री दाहालले हिजोबाट एमाले मन्त्रीहरुलाई अपमान गर्न थालेपछि भने एमाले आँफै सरकारबाट बाहिरिने निश्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा आज/भोलिभित्रै एमाले मन्त्रीहरुको जिम्मेवारी खोस्ने र उनीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए । प्रधानमन्त्री दाहालको तयारीबारे जानकारी पाएको एमालेले आज (सोमबार) पार्टीको सचिवालय बैठक राखेर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिएको एक नेताले जानकारी दिए ।

एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीले आज प्रधानमन्त्री दाहाललाई भेटेरै राजीनामा बुझाएका छन् । प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् । त्यसको लागि आज शीर्ष नेताहरु बसेर मन्त्रालयको भागबण्डा टुँगो लगाउने चर्चा छ । Photo By: Pradeep Raj Onta/RSS



प्रतिक्रिया दिनुहोस्