काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले भूमिगत गिरोहबाट सरकार चलाउने प्रयास असफल पारेको दाबी गरेका छन् ।
‘बल्ल बिग्रिएको राजनीतिक कोर्स करेक्सन भएको छ । संविधानले नचिनेको संयन्त्र बनाएर प्रधानमन्त्रीलाई मूर्ति जस्तो स्थापना गरी भूमिगत गिरोहले रिमोट कन्ट्रोलबाट सरकार चलाउने केपी ओलीको प्रयास हामीले असफल पारेका छौं । यसनिम्ति पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई धन्यवाद दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा कपोलकल्पित हल्ला मात्र भएको पनि उनले बताए । खतिवडाले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मतको कुनै समस्या छैन । हामीले पुस २६ मै सरकारलाई विश्वासको मत दिइसकेका छौं । प्रचण्डलाई विश्वासको मत नदिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा कपोलकल्पित हल्ला मात्र हो ।’ साथै उनले प्रधानमन्त्रीमा आलोपालोबारे कुनै सहमति, सम्झौता वा हस्ताक्षर नभएको पनि दाबी गरे ।
सरकारमा जाने बारे कांग्रेसले तत्काल केही नसोचेको पनि उनले प्रस्ट पारे । खतिवडाले भने, ‘अहिले हामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामै छौं । हामीले राष्ट्रपति निर्वाचनसम्म हेरौं भनेको छौं । प्रधानमन्त्रीले केही मन्त्री लिन पनि सक्नुहुन्छ । तर हामी एमालेले जस्तो छुद्रता र दुष्टता प्रदर्शन गर्दैनौं । केपी ओलीको जस्तो अहंता र प्रतिशोधको राजनीति पनि गर्दैनौं । धारे हात लगाएर कसैलाई सराप्दैनौं । यति छिटै एमालेलाई रहरै लाग्यो त के गर्ने ?’
एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा मात्र होइन, पाँच वर्षसम्म आठ दलीय गठबन्धन भत्काउन नसक्ने ठोकुवा कांग्रेस सांसद खतिवडाले गरे । एमालेका सांसदहरुले पनि रामचन्द्र पौडेललाई नै मतदान गरेर मुलुकको तेस्रो राष्ट्रपति बनाउने उनको दाबी छ ।