Logo

प्रचण्ड र माधव नेपालको प्रशंसा गर्दै गगनले भने–प्रचण्डलाई अस्थिर भयो भन्नु गलत हुन्छ



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले निर्वाचनअघिको वाचा पूरा गर्न नसक्दा पुष १० गते गठबन्धन भत्किएको खुलासा गरेका छन् । उनले आफूहरुले वाचाअनुसारको कर्म गर्न नसक्दा पुष १० गते नेपाल दुर्घटनामा गएको सुनाए । आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले नेपाली कांग्रेस ठूलो दल भएको कारण यसको दोष आफूहरुले लिने बताए । उनले पुष १० गते बनेको गठबन्धन अप्राकृतिक थियो भन्ने टिप्पणी गरे । उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्नेमात्रै लालसा, लोभ र चाहना भएको भए पुष १० गते बनेको गठबन्धनबाट नै अझै बढि सहजता र लाभ थियो भन्ने सुनाए ।

उनले आफूहरुसँगको गठबन्धनमा आएको कारण माओवादीले धेरै कुरा नपाएको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहाललाई अस्थिर भयो भनेर आरोप लगाउनु गलत हुने टिप्पणी गरे । माधव नेपाललाई पनि राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको भएपनि एमालेको गठबन्धनमा नगएको भन्दै उनले माधव नेपालको पनि भूमिकाको प्रशंसा गरे । उनले आज मुलुकमा जे भएको थियो त्यो ठीक भएको दाबी गरे । तर, अगाडिको बाटो भने सहज नभएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्