Logo

सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू



काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससहितको नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू गरेका छन् ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमालेलगायत दलहरू सरकारबाट बाहिरिएपछि स्वाभाविक रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताए । यद्यपि, उनले शक्ति बाँडफाँटलगालतका सन्दर्भमा भने दलहरूबीच छलफल नभएको बताए । उनले भने, ‘हामी सरकारमा जाने कुरा स्वाभाविक छ ।

तर, राष्ट्रपतिको निर्वाचन अघि वा पछि जाने भन्ने निक्र्यौल भइसकको छैन । प्रधानमन्त्रीले छलफल गराउनुभएकै छैन । सायद चाँडै छलफल हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ८ दलको बैठक राखेर छलफल गरेपछि कांग्रेस सरकारमा जानेबारे निर्णयमा पुग्ने जिकिर गर्दै उनले सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरा पार्टीमा छलफलपछि निर्णय गरिने बताए ।

एमालेसहितको सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई महिनामै उक्त गठबन्धन तोडेका थिए । राष्ट्रपति निर्वाचनका लागि नयाँ समीकरण बनाएर कांग्रेसलाई सहयोग गर्ने माओवादीको निर्णयसँगै सत्ता सहयात्री दल नेकपा एमाले सरकार छाडेको थियो । राप्रपा र रास्वपाले यसअघि नै सरकार छाडिसकेका थिए । अहिले प्रचण्ड सरकारमा माओवादी केन्द्र र सिके राउत नेतृत्वको जनमत पार्टीमात्रै रहेका छन् ।

१६ मन्त्रालय मन्त्रीविहीन भएपछि प्रधानमन्त्रीलाई मन्त्रालयको भार थपिएको छ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्। जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको जिकिर गर्दै उनले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुन नहुँने भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot