Logo

फनपार्क भाडा प्रकरण : दुई पूर्वमन्त्रीसहित नौ जना दोषी



काठमाडौं, फागुन १७ । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत नौ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।

न्यौपाने फनपार्क भाडा प्रकरणका विभागीय मन्त्री हुन भने गुरुङलाई मुद्दामा मेला सञ्चालकका रूपमा विपक्षी बनाइएको थियो । गुरुङका छोरा रवीन्द्रलाई पनि अदालतले सोही प्रकरणमा दोषी ठहर गरेको छ । गुरुङद्वयलाई मतियारका रूपमा दोषी ठहर गरेको हो । फैसलामा चित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदनको सुविधा पाउनेछन् ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले १४ प्रतिवादीमध्ये नौ जनालाई दोषी ठहर र पाँचलाई सफाइ दिएको बताए । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कसुर ठहर गरेको हो । अदालतले कसुर ठहर गरे पनि सजाय निर्धारण भने गर्न बाँकी छ । फागुन २५ गते सजाय निर्धारण हुनेछ ।

अदालतले दुई मन्त्रीसहित तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपानेलाई दोषी ठहर गरेको छ । यस्तै मेलाका मुख्य सञ्चालक रवीन्द्र गुरुङ, सञ्चालक पूर्वमन्त्री गुरुङलाई पनि दोषी ठहर गरेको छ । यस्तै तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादवलाई दोषी ठहर गरेको हो ।

अदालतले तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहामगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँरलाई अभियोबाट सफाइ दिएको छ । अदालतले परिषद्का तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरीलाई पनि सफाइ दिएको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्