Logo

३६,५०० जनप्रतिनिधिको मासिक भत्ताबारे बेलैमा सोचेनौं भने अप्ठ्यारो स्थिति आउन सक्छः कांग्रेस नेता



काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अहिले मुलुकमा फजुल खर्च रोक्ने अर्थमन्त्री चाहिएको औंल्याएका छन् ।
‘हामीले उठाउने राजस्वले चालु खर्च पनि धान्न नसक्ने स्थिति छ । हामीले भत्ता खाने मान्छे मात्र बढायौं । सरकारले फजुल खर्च तुरुन्त रोक्नुपर्छ । ३६,५०० जनप्रतिनिधिको मासिक भत्ताबारे दोहोर्‍याएर सोच्न सकेनौं भने मुलुकमा अप्ठ्यारो स्थिति आउन सक्छ । त्यसैले यतिबेला देशको अर्थतन्त्र बुझेको, एडीबी, विश्व बैंक लगायत दातृसंस्थाले पत्याउने र आर्थिक कूटनीति बलियो बनाउन सक्ने अर्थमन्त्री चाहिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पोखरेलले भने ।
अर्थमन्त्री सांसद मात्र नभएर बाहिरबाट ल्याउन सकिने उनको सुझाव छ । पोखरेलले थपे, ‘अहिले सुशासन कायम गर्ने, आयात प्रतिस्थापन गर्ने, नेपालमै पढ्ने वातावरण बनाउने, वैदेशिक लगानी ल्याउने, भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सक्ने हैसियत भएको व्यक्तित्वलाई मन्त्री बनाउनु आवश्यक छ । भारतमा गैरसांसद जयशंकरलाई परराष्ट्रमन्त्री बनाइएको छ । नेपालमा पनि जनतामा आशा दिन सक्ने त्यस्ता व्यक्तिलाई अर्थमन्त्री बनाउन सकिन्छ ।’

आफू जागिर खाने होइन कि १ करोड परिश्रमी नेपालीलाई जागिर खुवाउन सक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउनु पर्ने उनले औंल्याए । संविधान अनुसार संसद् सदस्य नभएका व्यक्ति ६ महिनासम्म मन्त्री पदमा बहाल रहन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्