Logo

तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलनमा जानुको विकल्प छैनः बार अध्यक्ष



काठमाडौं, १७ फागुन । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
‘महिनौंदेखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलेको छ । प्रधानन्यायाधीश मात्र होइन, सर्वोच्च अदालतमा पाँच जना र उच्च अदालतमा ४६ जना न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । हामीले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं । सभामुखलाई भेट्दै छौं । तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए अल्टिमेटम दिएर सडकमा निस्कनुको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
बार अध्यक्ष घिमिरेले नयाँ राष्ट्रपतिको शपथ ग्रहण पनि कामु प्रधानन्यायाधीशबाट हुने स्थिति आएको औंल्याए । उनले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चल्न सक्दो रहेनछ । एकातिर हजारौं कैदी बन्दी न्यायको पर्खाइमा छन् भने अर्कातिर न्यायाधीश नियुक्ति हुन सकेको छैन । हिजो हामीले कायममुकायम प्रधानन्यायाधीशलाई भेट्यौं । कुन मुद्दा कसले हेर्ने भन्ने मानिसले होइन मेसिनले मुद्दा तय गरोस् भनेका छौं । बार चुपचाप सुतेको सत्य होइन ।’
राष्ट्रपति निर्वाचनमा नेपाल बार एसोसिएसन कसैको पक्षमा नलाग्ने पनि उनले स्पष्ट पारे । घिमिरेले भने, ‘हामी लोकतान्त्रिक व्यवस्थामा छौं । जो निर्वाचित भएर आउँछ, त्यसलाई स्वीकार्छौं । हामीले कुनै पार्टीको जस्तो धारणा राख्न मिल्दैन । बार एसोसिएसन कसैको पक्षमा लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्