Logo

ओली फिल्डमा उत्रिए : राष्ट्रपतिमा सुवासको लागि मत माग्न वामदेव भेटे, अब झलनाथ भेट्ने



काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङको लागि मत माग्न सुरु गरेका छन् । राष्ट्रपतिको लागि उम्मेदवारी परेकै दिन संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पत्र लेखेर मत माग्न सुरु गरेका ओलीले अहिले नेताहरुलाई भेटेरै मत माग्न थालेका छन् ।

ओलीले सुरुमा एमाले छाडेर छुट्टै पार्टी गठन गरेका वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । वामदेवलाई भेट्न अ‍ोली आज (बुधबार) उनको निवास भैसेपाटी पुगेका थिए । सो क्रममा उनले राष्ट्रपतिमा एमालेबाट उम्मेदवारी दिएका सुवास नेम्वाङको पक्षमा मत मागेका थिए । ओलीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई छिट्टै भेट्ने तयारी गरेका छन् ।

उनले आज/भोलिभित्रै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर अध्यक्ष माधवकुमार नेपालसँग खनालको मतान्तर बढेको छ। उनले आफू सुवास नेम्वाङको पक्षमा उभिएको सार्वजनिक रुपमै बताउन थालेका छन् । एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म अहिले बनेको आठ दलीय गठबन्धन भत्किने विश्वास लिएका छन् । झलनाथसँगको भेटवार्तापनि उनले माओवादी केन्द्रका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

एमाले शीर्ष नेताहरुले नै राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरिरहेका छन् । राष्ट्रपतिको निर्वाचनसम्म माओवादीको नेतृत्वमा रहेको सरकारमा रहने सोचेको एमालेले आफ्ना मन्त्रीहरु फिर्ता बोलाईसकेको छ । र, सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर, राष्ट्रपतिको निर्वाचनसम्म भने उसले माओवादी केन्द्रका प्रभावशाली नेताहरुसँग भने सम्पर्क बढाउने र राष्ट्रपतिको निर्वाचनमा सहयोग लिने रणनीति अख्तियार गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot