Logo

चितवन–२ सँगै छिट्टै यी क्षेत्रमा उपनिर्वाचन हुने



काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले गत मंसिर ४ मा देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरायो । निर्वाचन सम्पन्न भएको चार महिना नवित्दै पुनः चार क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन हुने अवस्था सिर्जना भएको छ । पुनः उपनिर्वाचन हुँदा एकतर्फ राज्यलाई आर्थिक भार थपिने अवस्था सिर्जना हुन्छ भने अर्कोतर्फ मतदातामा चरम वितृष्णाको स्थिति पैदा गराउँछ । साथै, यस्तो परम्पराले राजनीतिक अस्थिरता निम्त्याएको पाइन्छ । निकट भविष्यमै प्रतिनिधि सभाको उपनिर्वाचन हुन गइरहेका चारवटा निर्वाचन क्षेत्र निम्न छन्ः

चितवन क्षेत्र नं २

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए । उनी निर्वाचित भएसँगै उनको नागरिकता विवादमा सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि आगामी वैशाख १० मा चितवन २ मा उपनिर्वाचनको मिति तय भएको छ ।

तनहुँ १ वा इलाम क्षेत्र नं २

आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका साझा उम्मेदवारको रूपमा रामचन्द्र पौडेल रहेका छन् । त्यसैगरी, नेकपा (एमाले) ले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । उनीहरु दुवै जना प्रतिनिधि सभा सदस्य हुन् । राष्ट्रपति निर्वाचनमा दुई उम्मेदवारमध्ये एक जना विजयी हुने निश्चित छ । यस्तो अवस्थामा तनहुँ क्षेत्र नं १ वा इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।

बारा क्षेत्र नं २
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसाय प्रसाद यादव उपराष्ट्रपतिका सम्भावित उम्मेदवार हुन् । आठ दलीय सत्ता गठबन्धनले उनलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी थालेको छ । राजनीतिक वृत्तमा कुनै नाटकीय परिवर्तन नभएमा उनी उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । उनी उपराष्ट्रपतिमा निर्वाचित भएमा सो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवा उम्मेदवार बन्ने तयारी छ ।

मनाङ
नेपाली कांग्रेसबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनको फैसलाको पूर्णपाठ भने आइसकेको छैन । फैसलाको पूर्णपाठ आएसँगै उनी सांसद पदबाट मुक्त हुने जानाकारहरु बताउँछन् । विशेष अदालतको फैसलाबाट उनी पदमुक्त भएको अवस्थामा मनाङमा प्रतिनिधि सभाको उपनिर्वाचन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्