Logo

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित



इस्लामाबाद, १९ वैशाख । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि दुई सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् ।

यसैबीच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ । फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् ।

हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ ।

यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानून र शरणार्थी कानून विपरीत भएको उल्लेख गरेको थियो ।

यसैबीच तालिबानका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ती मामिलामन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीको ढाँचाभित्र समाधान गर्न आग्रह गरेका थिए ।

पाकिस्तानबाट कागजातविहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण नोभेम्बर २०२३ देखि सुरु भएको थियो ।

मानव अधिकारवादी सङ्गठन तथा तालिबानले पाकिस्तानको कार्यको आलोचना गरेका छन् । यद्यपि पाकिस्तानी सरकारले यो कुनै जातीय समुदाय निर्देशित प्रक्रिया नभएकोमा जोड दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot