Logo

प्रचण्डलाई कांग्रेससँगको सहकार्य ‘कम्फर्टेबल’ हुन्छः सांसद बस्नेत



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले आफ्नो पार्टी सरकारमा जाने परिस्थिति बने पनि मन्त्रालयको भागबन्डा नभएको बताएका छन् ।
‘एमाले बाहिरिएकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने परिस्थति बनेको छ । तर कांग्रेसले यतिवटा मन्त्रालय भनेर मागेको छैन । यो यो मन्त्रालय चाहिन्छ पनि भनेको छैन । सरकारमा गएको स्थितिमा हिजो एमालेले आठवटा पाएको थियो । त्यो भन्दा घटी वा बढी होला । संसदमा कसको कति प्रतिनिधित्व छ, त्यस आधारमा भागबन्डा होला । मन्त्रालयमा मनोमालिन्य भएको कुरा हल्ला मात्र हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बस्नेतले भने ।
सरकारमा सामेल नहुँदासम्म कांग्रेस प्रमुख प्रतिपक्ष नै रहेको उनले बताए । बस्नेतले थपे, ‘यो परिस्थितिजन्य कुरा हो । कांग्रेस सरकारमा जाने अवस्था छ । तर गइसकेको छैन । त्यसबेलासम्म संख्याका आधारमा पनि प्रमुख प्रतिपक्ष हामी नै हौं । एमाले संघको सरकारबाट बाहिरिए पनि प्रदेश सरकार छाडेको छैन । सुदूरपश्चिममा एमालेले छाडेपछि हामीले पाएका हौं ।’
राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्न एमाले नेताहरूले कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउने हल्ला फिँजाएको आरोप पनि बस्नेतले लगाए । उनले भने, ‘अहिलेसम्म कांग्रेसले नेतृत्वमा दाबी गरेको छैन । सरकारको नेतृत्व प्रचण्डले नै गर्नुहुन्छ । तत्काल कांग्रेसले प्रचण्डजीको विकल्प प्रस्तुत गर्दैन । पछिको कुरा बेग्लै हो । केपी शर्मा ओलीजी कांग्रेस र माओवादीबीचमा दरार पैदा गर्न सकिन्छ कि भनेर एक दिनमा दसवटा झूटा कुरा गर्नुहुन्छ, अनेक लफडा गर्नुहुन्छ । यस्ता कुराले केही फरक पर्दैन । कांग्रेससँगको सहकार्य प्रचण्डलाई कम्फर्टेबल हुन्छ ।’
विश्वासको मत लिनुभन्दा अगाडि सानो मन्त्रीमण्डल बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास भए पनि आचार संहिताका कारण त्यो सम्भव नदेखिएको बस्नेतले बताए । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई एमालेले पनि मतदान गर्ने दाबी गरे । उनले भने, ‘रामचन्द्र पौडेलको पक्षमा आठ दलीय गठबन्धनको मत नै अत्यधिक भैसक्यो । अरु दलले पनि सहयोग गर्ने अवस्था छ । एमालेका साथीहरुले पनि रामचन्द्र दाइलाई नै भोट हाल्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्