Logo

खगराज अधिकारीलाई धमलाको प्रश्न– मुख्यमन्त्री पद कहिले छोड्नु हुन्छ ?



काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूले पदबाट राजीनामा दिने नसोचेको बताएका छन् ।
‘कुर्सी मेरो होइन, पदको हो । त्यसैले मलाई कुर्सीको मतलब छैन । म त्यस्तो मतलब गर्ने मानिस पनि होइन । जनताको सेवाबाहेक मेरो अरु लक्ष्य छैन । म जसरी पनि सरकार बचाउन जान्नँ । सिद्धान्त र विचारमा जान्छु । म संविधान अनुसार मुख्यमन्त्री भएको हुँ । संवैधानिक प्रक्रिया अनुसार नै रहन्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अधिकारीले भने ।
अहिले नै नेकपा (माओवादी केन्द्र) ले आफ्नो साथ छाड्ने अनुमान नगरेको पनि उनले औंल्याए । अधिकारीले थपे, ‘हो, म माओवादीले साथ नदिए अल्पमतमा पर्छु । तर अहिले हामी सँगै छौं । सँगै छौं भने सरकार कसरी ढल्छ ? त्यो अनुमान अहिले किन गर्ने ? जति दिन बसिन्छ, त्यतिबेलासम्म जनताको काम गर्ने हो ।’ मुख्यमन्त्री पद कहिले छाड्नुहुन्छ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘मैले ज्योतिष हेराएको छैन । केपी शर्मा ओलीसँग पनि कुरा गरेको छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केपी शर्मा ओलीले बिरालोसँग तुलना गर्नु स्वाभाविक भएको पनि उनले बताए । अधिकारीले भने, ‘बिरालो तुलना होइन, बिम्ब हो । हिजो जोसँग सहमति गरेको छ, उसलाई छाडेर आज अर्कोसँग गएर टाँसिनु नैतिकता होइन भनेको न हो । कोही कतैबाट गाइडेड हुन्छ भने उसकै विश्वसनीय स्खलित हुन्छ । विचार र सिद्धान्तप्रति लगाव छैन, कुर्सीका लागि जे पनि गर्न मिल्छ ? एक हातले ताली बज्छ र ? हामीले दिएको दियै छ । लिएको त केही छैन नि ।’
कांग्रेस र एमाले मिलेर सरकार बनाउने दिन आउँछ कि आउँदैन भन्ने प्रश्नमा उनले भने, ‘यो संसदको संख्याको कुरा हो । यो ५ वर्ष यसै गरी जाने हो भने पद्धति नै खतरामा पर्छ । त्यसैले कांग्रेस र एमाले दुइटा दल मिल्दा स्थिरता हुन्छ भन्ने हो । तर आइडियोलोजी फरक छ । तर भर्सेलोमा पार्ने दलहरुलाई आइडियोलोजीको के मतलब ? बैंक करप्टले नै राजा आऊ देश बचाऊ भन्न थालिसके ।’
छोटो समयमै आफूले गण्डकी प्रदेशमा सकारात्मक सुरुवात गरेको मुख्यमन्त्री अधिकारीले बताए । उनले भने, ‘पहिलो कुरा त ३४ वटा ऐन संशोधन भएका छन् । कर्मचारीसँग सम्बन्धित अध्यादेश अलपत्र थियो । त्यसलाई पारित गरेका छौं । दुम्कीबासदेखि त्रिवेणीसम्म आरक्ष क्षेत्रका कारण नाका खुलेको थिएन । आठ किलोमिटर खोलेपछि भारतसँग जोडिने प्रबन्ध मिलाएका छौं । कोरला नाकादेखि त्रिवेणीसम्मको सडकलाई प्रदेश गौरवको आयोजनामा समेटेका छौं । छोटो समयमा राम्रा कामको सुरुवात गरेका छौं ।’
नेपालका वामपन्थी दलहरु कम्युनिस्ट नभएको आरोप पनि उनले लगाए । अधिकारीले भने, ‘नेपालमा बाह्य शक्तिको माइक्रो म्यानेजमेन्ट छ । त्यसलाई स्पेस दिने हाम्रा नेताहरु नै हुन् । पछिल्लो घटनाले कम्युनिस्टहरु कम्युनिस्ट देखिएनन् । कांग्रेसको भातृ संगठनजस्ता देखियए । अब कम्युनिस्टहरु कम्युनिस्ट पार्टीमै हुन्छन् । गैरकम्युनिस्ट कम्युनिस्टसँग रहँदैनन् ।’



प्रतिक्रिया दिनुहोस्