Logo

बैंकहरुले गरिखान दिएनन्ः लौरो अभियान नेता



काठमाडौं, १९ फागुन । हाम्रो नेपाली पार्टी (लौरो अभियान) का नेता यदुनाथ सिग्देलले आफ्नो पार्टीको रिले अनशनको सातौं दिनसम्म पनि सरकारले वास्ता नगरेको आरोप लगाएका छन् ।
‘देशमा बाँच्ने र गरिखाने वातावरण भएन । हामीले दुई अंकको ब्याजदर एक अंकमा ल्याउन, प्रेम आचार्यको न्याय लगायत ६ बुँदे माग राखी रिले अनशन थालेको साताैं दिन भयो । तर राज्यले वास्ताबेस्ता गरेको छैन । यसको मूल्य भोलि महँगो पर्नेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सिग्देलले भने । उनले सरकारले बैंकहरुसँग वार्ता नगरे आफैं अघि सर्ने र लौरो लगाएर लखेट्ने चेतावनी पनि दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनतालाई ठग्ने हुटहुटी राखेर हिँडिरहेको आरोप पनि उनले लगाए । सिग्देलले भने, ‘१७ हजार जनताको रगतमा होली खेलेर आएकाहरुलाई हामी सत्ता दिँदै छौं । २०६२ ६३ को जनआन्दोलनमा मैले आँखा गुमाएँ । अब छोटे राजाहरुविरुद्ध विषवमन गर्ने बेला भयो ।’
उनले राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने निर्णय पार्टीले लिई नसकेको पनि बताए । सिग्देलले थपे, ‘बाग्मती प्रदेशमा हाम्रा २ जना सांसद छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल गरिसकेका छैनौं । २४ फागुनसम्म कुनै निर्णय आउला ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot