Logo

होली पर्वसँग जोडिएको कथा



रामचन्द्र गौतम, संस्कृतिविद्–
फागुन शुक्ल पूर्णिमा आसुरी शक्तिको पतन र दैवीशक्तिको उत्थान भएको दिन हो । यसमा असुरहरुले हारेको र देवताहरुले जितेको कथा जोडिएको छ । हिरण्य कशिपु दानवका राजा थिए । उनले छोरा प्रल्हादलाई शिक्षा दिन पठाए । उनको उद्देश्य थियो, छोरा दानवको शक्ति बढाउनमा लागोस् । तर प्रल्हादले त्यसो गरेनन् । उनी भगवान् विष्णुको भक्तिमा लागे । राजाले सम्झाए, बुझाए । तर प्रल्हादले विष्णुको उपासना गर्न छाडेनन् ।
हारथाक भएपछि राजाले छोरालाई समाप्त गर्ने अनेक विचार गरे । सर्पलाई टोकाउने, हात्तीले गुल्टाउने, भीरबाट लडाउने आदि गरेर मार्न खोजे । तर त्यसमा सफल सकेनन् । उनले शत्रुको पक्ष लिएर दानवकै विनाशमा लागेका छोरालाई आगोमा जलाएर समाप्त गर्ने निश्चय गरे । त्यस अनुसार दाउराको खलो लगाइयो । उनकी बहिनी होलिकाले आगोमा नजल्ने वरदान प्राप्त गरेकी थिइन् । होलिकाले प्रल्हादलाई काखमा राखिन् र दनदनी बलिरहेको अग्निमा बसिन् । होलिका जलेर मरेर मरिन् । तर प्रल्हादलाई केही पनि भएन । त्यही दिनको सम्झनामा विष्णुभक्त प्रल्हादको जयजयकार गरेर होलीको उत्सव मनाउने चलन आएको हो ।
हाम्रो देश नेपालमा पहाडमा आज र तराई भोलि होली मनाउने चलन छ । पहाडमा चीरदाह गर्नुभन्दा अगाडि उत्सव मनाउने चलन छ भने तराईमा त्योभन्दा पछाडि गर्ने उत्सव मनाइँदै आएको छ । फागुन शुक्ल अष्टमीमा चीरोत्थान गरेपछि होली प्रारम्भ हुन्छ । पहाडमा भरे भद्रा (होलिकाको प्रतीक) को चीरदाह गरेपछि होलि सकिन्छ भने तराईमा होलिकाको भष्म निधारमा दलेपछि मात्र उत्सव मनाउने तयारी हुन्छ ।
होलीमा पञ्चरंग वा सप्तरंगको प्रयोग हुन्छ । हाम्रो शरीर पञ्चतत्वबाट बनेको हुन्छ । रंग पनि त्यसकै आधारमा बनेका हुन् । हरियो रंग पृथ्वीसँग सम्बन्धित छ । नीलो रंग आकाशसँग सम्बन्धित छ । रातो रंग देवीसँग सेतो शिवजी वा विष्णुसँग सम्बन्धित छ । कुनै रंग सूर्यसँग सम्बन्धित छ ।
होली हाम्रो राष्ट्रिय पर्व हो । राष्ट्रियता र संस्कृतिको पर्व हो । होली सम्पूर्ण मानव मात्रका लागि हो । यो कुनै जात, वर्ण, लिंगका लागि भन्ने छैन । धेरै मानिसले मनाउने भएकाले यो रमाइलो पनि हुन्छ । तर रमाइलो गर्ने नाममा विकृति विसंगति पनि देखिएका छन् । रंगमा रसायन मिसिएको हुन्छ । त्यसले आँखा वा छालामा नोक्सान गर्न सक्छ । त्यसैले रंग लगाउँदा सचेत हौं ।
संस्कृतिविद् गौतमसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot