कैलाली, फागुन २२ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। प्रस्तावको विपक्षमा ११ मत खस्यो। प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रस्तावको पक्षमा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्र एक गरी ४१ सांसदको मत परेको हो। नेकपा एमालेका १० र राप्रपाका एक गरी ११ सांसदले प्रस्तावको विपक्षमा मत दिएका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रदेशसभाको दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहले पत्रकारसँग कुरा गर्दै केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीचको सहमतिअनुसार सरकार विस्तार गर्ने बताए। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि प्रदेश सरकार विस्तार हुने जानकारी उनले दिए।
प्रदेशसभमा विश्वासको मतका लागि प्रस्ताव राख्दा मुख्यमन्त्री शाहले जनजीविका, सुशासन र विकाससँग सम्बन्धित ११ बुँदे अवधारणामा आधारित भएर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले संघीयता र प्रदेश संरचनालाई बलियो बनाउने प्रण पनि गरे। प्रदेशसभा बैठकमा एमालेका सांसद चक्र मल्लले यसअघिका मुख्यमन्त्री राजेन्द सिंह रावलले विश्वासको मत लिदाँ मतदान नगराइनु संविधान र प्रदेशसभा नियमावलीविपरीत भएको भन्दै आपत्ति जनाए। नागरिक दैनिकबाट