Logo

राष्ट्रिय परिचयपत्रका लागि थपिए स्थान



काठमाडौं, फागुन २३ । सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन तथा वितरणलाई तीव्रता दिन उपत्यकाभित्र पाँचवटा स्थानमा २७ वटा स्टेसन तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरका साथै नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।

राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती भएको भन्दै आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् । यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा मधेश प्रदेशका सप्तरी र सर्लाहीका जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।

नारायणहिटी दरबार परिसरमा कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला तथा मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतटहका सेवाग्राहीले आवेदन दिन सक्नेछन् भने विभाग परिसरमा नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिन सक्नेछन् ।

उनका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot