काठमाडौं, फागुन २३ । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९-८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको छ । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।
असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रूपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रूपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रूपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रूपैयाँ छ ।
गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ थियो। ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । ‘पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो,’ गिरीले भने, ‘केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।’
सरकारले राजस्व संकलन वृद्धि गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋणलाई स्रोत मानेर बजेट बनाउँदै आएको छ। बजेटको आकार वृद्धि गर्दै जाँदा राजस्वको स्रोत कम भएपछि ऋणको आकार पनि बढ्दै गएको छ । आजको नागरिक दैनिकबाट