Logo

काठमाडौं विश्वविद्यालयमा खानी इन्जिनियरिङको अध्यापन हुने



बनेपा, फागुन २४ । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ।

देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो।

केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाएको छ। केयूले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर) विषय अध्यापन सुरु गर्ने भएको छ।

“देशमा खानीजन्य उद्योगको विकास भए पनि यी उद्योगमा आवश्यक पर्ने इन्जिनियरको अभाव छ, त्यो अभाव पूरा गर्ने उद्देश्यले स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन सुरु गर्न लागेका हौँ,” केयूका उपकुलपति प्राडा भोला थापाले बताए ।

उपकुलपति प्राडा थापाले भने, “हामीले सुरु गर्न लागेको उक्त विषयको पढाइ गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्ने इच्छा देखाएको छ। उहाँहरूले उक्त विषयको पढाइको प्रवेश परीक्षा केयूले लिएर परीक्षाफल पनि केयूलाई नै गर्दिन आग्रह गर्नुभएको छ।” उनले विश्वविद्यालयले पाठ्यक्रमको मस्यौदा तयार गरेको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्