काठमाडौं, फागुन २४ । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्ने सन्दर्भमा छलफल भएको हो ।
बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा। वेदुराम भुसालले गठबन्धनमा अन्य दललाई सहभागी गराउने विषयमा छलफल गर्ने बताए । उपसभापति खड्काले भने, “अहिले राष्ट्रपति निर्वाचन केन्द्रित छलफल र प्राविधिक तयारीबारेकै छलफलमा हामी केन्द्रित छौँ । निर्वाचनपछि गठबन्धनलाई विस्तार गर्दै अगाडि लैजान्छौँ ।”
डा भुसालले आठ दलबीचको छलफल पनि सरकार विस्तारसहित अन्य विषयमा संवाद अघि बढ्ने बताए । उनले भने, “राष्ट्रपतिको निर्वाचनपछि गठबन्धनलाई विस्तार गर्ने र अन्य दललाई समावेश गर्ने कुरामा छलफल अघि बढ्छ ।”
त्यसैगरी जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बुधबार ४ बजेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सांसदलाई काठमाडौँ आउन आठै दलले निर्देशन दिएको बताए । ‘जनयुद्धकालीन मुद्दा सङ्क्रमणकालीन न्यायबाटै’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत र कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा उठेका सवालको सम्बोधन गर्न कानुन निर्माणको काम चाँडै सुरु हुने बताए । गोरखापत्र दैनिकबाट