Logo

शिवपुरीको मध्यवर्तीमा जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर र कार्यकारीको पद धरापमा



काठमाडौं, २४ फागुन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विनाअनुमति जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर दिपक रिसाल रिसाल र कार्यकारी बैकुण्ठराज सापकोटाको पद धरापमा परेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयले विनाअनुमति मध्यवर्ती क्षेत्रमा डोजर चलाएको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
उनीहरूमाथि १ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवानासहित अभियोग लगाउन सक्ने आधार प्रस्तुत गरिएको छ ।

निकुन्जका अनुसार गोकर्णेश्वर नगरपालिकाले कुनै प्रक्रिया पूरा नगरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बफर जोनभित्र पर्ने जन्तरे डाँडामा डोजर लगाएर माटो काटिरहेको रहेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ र २ पर्ने गराडोल जन्तरे टोल नजिकैको डाडाँमा नगरपालिकाको डोजर चलिरहेको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जको बफर जोनभित्र पर्ने उक्त क्षेत्रमा राष्ट्रिय निकुञ्जको स्वीकृति नलिइ डोजर लगाएको निकुञ्जले खुलाएको छ । ‘नगरपालिकाले न कुनै डिपिआर गरेको छ न वातावरण प्रभाव मूल्यांकन गरेको छ । स्टिमेट, ठेक्का सम्झौता र कार्यदेश बेगर नै मेयरको स्वार्थमा सीधै खेल मैदान बनाउने नाममा डोजर चलाएको छ ‘, निकुञ्ज स्रोतले भन्यो ।

तरुण दलको स्थानीय नेता सञ्जय लामाको नेतृत्वमा ५० लाख दिएर डोजर लगाउने काम भइरहेको निकुञ्जका एक अधिकारीले बताए । वीना स्वीकृति १९ वटाभन्दा बढी रुख काटेर बेपत्ता बनाइएको निकुन्जले जनाएको छ । गोकर्णेश्वर नगरपालिका मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा र नगर खेलकुद समितिका अध्यक्ष सन्जय लामाको मिलेमतोमा डोजर लगाइएको निकुन्ज स्रोतको दाबी छ ।

नगरपालिकाकाका उच्च अधिकारीको मिलेमतोमा मध्यवर्ती क्षेत्रमा विनाअनुमति खेल मैदान बनाउन डाँडा काट्ने काम गरेकोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (६) बमोजिम १ वर्षसम्म कैद सजाय मागसहित अभियोगपत्र दर्ता हुने देखिन्छ । अभियोग पत्र दर्ताका लागि निकुञ्जले सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकिसकेको छ । यो पक्रिया अगाडि बढेसँगै मेयर रिसाल र कार्यकारी सापकोटाको पद धरापमा परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot