Logo

कांग्रेसबाट निधिले सरकारमा नेतृत्व गर्ने



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनलगत्तै सरकारमा सहभागी हुने भएको छ । त्यसको लागि कांग्रेस शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल पनि गरिराखेका छन् । भोलि (बिहीबार) राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विभिन्न आठ दलबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

उता, नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि र राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले एमालेको गठबन्धन छोडेर कांग्रेससँग सहकार्य गरेपछि अहिले प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालयको भार छ। प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धनबाट फागुन २० अघि नै सरकारमामा सहभागिताको लागि प्रयास गरेका थिए ।

तर, कांग्रेसले राष्ट्रपतिको निर्वाचनअघि सरकारमा सहभागी नहुने अडान लिएपछि उनी रोकिएका थिए । यो बीचमा आठ दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डाबारे छलफल भैसकेको छ। मन्त्रालय बाँडफाँटमा करिब करिब सहमति भएकोले राष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बुझिएको छ । नेपाली कांग्रेसबाट विमलेन्द्र निधिको सरकारमा सहभागिता हुने भएको छ ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले खड्काको नेतृत्वमा नभएर निधिको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने निधो गरेका छन् । उता, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा पनि चलिरहेको छ ।

तर, थापाले भने सरकारमा सहभागी हुन इच्छा देखाएका छैनन् । निधि र आरजुबीच राम्रो सम्बन्ध भएकै कारण यसपटक कांग्रेसले निधिकै नेतृत्वमा प्रचण्ड सरकारमा सहभागिता जनाउने निश्चित् भएको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्