Logo

उपराष्ट्रपतिबारे एमाले नेताको प्रतिक्रिया– कसैले उम्मेदवारी दियो भन्दैमा एमालेले समर्थन गर्नुपर्ने के छ र !



काठमाडौं, २६ फागुन । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनले राष्ट्रिय सहमतिको नाममा आफ्नो पार्टीलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् ।
‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको रट लगाइयो । तर एमालेलाई बाहेक गरेर कसरी राष्ट्रिय सहमति हुन्छ ? पहिले एमालेसँग सहमति गर्ने, अनि कांग्रेससँग टाँसिन गएर कसरी सहमति हुन्छ ? सहमतिको पहल प्रचण्डले गर्ने कुरा भएन, कांग्रेसले पनि गरेन । उम्मेदवारका हिसाबमा रामचन्द्र पौडेलले गर्नु अलग कुरा हो । त्यसैले एमालेले आफ्नो स्टे«न्थ देखाउन पनि उम्मेदवारी दियो । राष्ट्रिय सहमतिको रट एमालेलाई एक्ल्याउन नै लगाइएको थियो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै दाहालले भने ।
सुवासचन्द्र नेम्वाङलाई किन राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन चाहनुभएन भन्ने प्रश्नमा दाहालले भने, ‘हार्ने बेला उम्मेदवार बनाउने भन्ने हल्ला सेन्टिमेन्ट भड्काउने कुरा मात्र हो । राष्ट्रपतिको निर्वाचन पहिले पनि भएका थिए । प्रतिस्पर्धा पहिले पनि भएकै हो । चुनावमा कोही निर्वाचित हुन्छ, कोही पराजित हुन्छ । यो स्वाभाविक कुरा हो । देशले राष्ट्रपति पाएको छ, यो नै खुसीको कुरा हो ।’
नेता दाहालले व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथि उठेर काम गर्न पौडेललाई आग्रह गरे । उनले भने, ‘राष्ट्रपतिले संविधान रक्षाकै लागि काम गर्ने हो । हिजो पनि राष्ट्रपतिले संविधान रक्षाकै लागि काम गर्नुभएको हो । कतिपयले आफ्नो स्वार्थपूर्ति नभएपछि विवाद निकालेका मात्र हुन् । अब पनि व्यक्तिगत र दलगत स्वार्थका लागि काम गर्नहुन्न । पार्टीगत रुपमा ढल्किएर काम गर्नुहुन्न । बोलेर मात्र हुँदैन, व्यवहारमा देखाउनुपर्छ । रामचन्द्र पौडेललाई मेरो शुभकामना छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर स्वभावका कारण दुई महिनामै गठबन्धन बदलिएको आरोप पनि उनले लगाए । दाहालले भने, ‘आफ्नो सरकार आफैं कमजोर बनाउने प्रचण्डको मसँग कुरै नगर्नुस् । एमालेको भर्‍याङ चढेर प्रधानमन्त्री बन्नुभयो । अहिले कांग्रेससँग लतारिएर जानुभएको छ । कांग्रेसले प्रधानमन्त्री नदिने भनेर लात हानेपछि बालकोटको बार्दलीमा बसेर हात हल्लाउन लाज लागेन ? प्रचण्ड भनेको पटक्कै लाज नमान्ने प्राणी हो ।’
आफ्नो पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने पनि दाहालले बताए । उनले भने, ‘एमालेले उम्मेदवारी किन नदिने ? एमाले छ भन्ने देखाउन पनि दिनुपर्छ नि । हामीसँग कसैले केही संवाद गरेकै छैन । कसैले उम्मेदवारी दियो भन्दैमा समर्थन गर्नुपर्ने के छ र ?’ साथै उनले संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकको अध्ययन गरेर एमाले अघि बढ्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्