काठमाडौं, फागुन २६ । माओवादी घटकहरूको बैठले शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने २८ गते सामुहिक पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।
बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने बताए। ‘शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्ति देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउने, शान्ति प्रक्रियाका काम छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेता मिलेर भन्ने कुरा भएको छ’,उनले भने, ‘३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी रहेका थिए ।