Logo

उपेन्द्र यादवलाई संसद् छिर्न नदिने कांग्रेस–माओवादीको दाउ, उपराष्ट्रपतिमा रञ्जिताको दाबी



काठमाडौं, २६ फागुन । आठ दलीय गठबन्धनमा फाटो सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै गठबन्धनमा फाटो आएको हो । यसअघि उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति भएको चर्चा थियो । तर, राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आठ दलीय गठबन्धनका शीर्ष नेताहरु उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएका छन् ।

आठ दलीय गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । योसँगै गठबन्धनमा असन्तुष्टि चुलिएको छ । जसपाले हिजोमात्रै उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई अघि सार्ने निर्णय गरेको छ। रामसहायलाई उम्मेदवार बनाएर खाली हुने उक्त क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने चर्चा छ ।

तर, आठ दलीय गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले भने उपेन्द्रलाई संसद् छिर्न नदिने योजना बनाएको स्रोतको दाबी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको खुलासा गरेका छन् । उता, नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि उपराष्ट्रपति फर समुदायको महिला हुनुपर्ने आफ्नो पार्टीको अडान रहेको सुनाए । गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए । आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्नेमा उनले जोड दिए । उनको प्रतिक्रिया छ–‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिकरूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

पछिल्लो समय जसपामा उपेन्द्र यादवले संसद्मा छिर्नको लागि उपराष्ट्रपतिमा पार्टीको अडान लिँदै आएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भने यादवलाई संसद्मा ल्याउने पक्षमा देखिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot