Logo

उपेन्द्र यादवलाई फेरि पछार्ने सिके राउतको दाउ, उपराष्ट्रपतिमा ममता झालाई अघि सारे



काठमाडौं, २६ फागुन । मधेश आन्दोलनका नायकका रुपमा चिनिएका उपेन्द्र यादवलाई हराएर संसदीय राजनीतिक यात्राको थालनी गरेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले फेरि यादवलाई रोक्नेगरि कदम चालेका छन् । मुलुकले हिजोमात्रै तेस्रो राष्ट्रपतिको रुपमा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाएको छ ।

अब भोलि (शनिबार) उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ । त्यसअघि नै उपेन्द्र यादव र सिके राउत आमनेसामने भैसकेका छन् । सत्ता गठबन्धनमा यसअघि उपराष्ट्रपति जसपाले पाउने सहमति भएको चर्चा थियो । तर, उम्मेदवारी दर्ताको अघिल्लो दिन भने सत्ता गठबन्धनका प्रमुख घटकका शीर्ष नेताहरुले नै उपराष्ट्रपतिबारे गठबन्धनमा अहिलेसम्म कुनै सहमति नभएको खुलासा गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गरेका छन् । जसपाले रामसहाय प्रसाद यादवलाई अघि सार्ने निर्णय गरिसकेको छ । आजै जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीले सुरुमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने भनेको थियो । तर, उमेरको कारण उनको उम्मेदवारी नपर्ने भएको छ ।

उपराष्ट्रपतिको निर्वाचनलाई लिएर बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवार टुँगो लगाउन गठबन्धनको बैठक बस्न लागेको हो । उपराष्ट्रपतिको लागि भोलि मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवारको लागि महिला हुनुपर्ने अनिवार्यता गरेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी छन् । यसअघि गठबन्धनबाट उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति भएको चर्चा थियो ।

तर, उपराष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ताको अघिल्लो दिन आज गठबन्धनका मुख्य घटकहरु कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको दाबी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्