Logo

गठबन्धनबाट दुई जना उपराष्ट्रपतिको उम्मेदवार



काठमाडौं, फागुन २७ । सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) र जनमत दुबैले उपराष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज विहान बसेको १० दलको बैठकले जसपाबाट पुरुष र जनमतबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो । कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी बीच उपराष्ट्रपति जसपाले लिने सहमति अनुसार जसपाले संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपराष्ट्रपतिमा जनमतले समेत दाबी गरेपछि पार्टीकी ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने तयारी छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएको आधारमा शाहको उम्मेदवारी दर्ता नगरे पहिलातर्फबाट झा गठबन्धनको उम्मेदवार बन्ने छिन् । झा उपराष्ट्रपति बने मधेश प्रदेश सरकारको कार्यकायल आधा-आधा गर्ने सहमती भएको स्रोतले जनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताएका छन् । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।

निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ ।

यता नेकपा (एमाले) ले भने उपराष्ट्रपतिमा बाग्मती पूर्व मूख्यमन्त्री अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्