Logo

कलेज-कलेजमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको छः समिक बडाल



काठमाडौं, २८ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठलले कसैसँग तालमेल नगरेको बताएका छन् ।
‘हामीले केन्द्रीय रुपमा कसैसँग पनि तालमेल गरेका छैनौं । तर वामपन्थी र प्रगतिशील विद्यार्थी संगठनलाई एक ठाउँमा उभिन आह्वान गरेका छौं । स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल भएको हुन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बडालले भने ।
अध्यक्ष बडालले आफ्नो संगठनले हडताल, बन्द र तालाबन्दीरहित विश्वविद्यालयको एजेन्डा अघि सारेको पनि बताए । उनले भने, ‘अनेरास्ववियु अन्य विद्यार्थी संगठनसँग दाँज्न मिल्दैन । अनेरास्ववियु गैरप्राज्ञिक मुद्दा राखेर विश्वविद्यालयलाई ६ महिनासम्म अनाहक बन्धक बनाउने संगठन होइन । आजको प्रविधिको युगमा हामी बन्द, हडताल र तालाबन्दीरहित विश्वविद्यालय बनाउन चाहन्छौं ।’
स्ववियु निर्वाचनमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको आरोप पनि बडालले लगाए । उनले भने, ‘हामी स्वस्थ निर्वाचनको पक्षमा छौं । भयरहित निर्वाचनमा प्रतिबद्ध छौं । तर विभिन्न क्याम्पसमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको छ । कलेज हातामा हतियार लिएर हिँडेका छन् । शान्ति सुरक्षाको व्यवस्था छैन । झडप हुँदा पनि सुरक्षाकर्मीले टुलुटुलु हेरेको स्थिति छ ।’

 



प्रतिक्रिया दिनुहोस्