Logo

विद्यार्थीको निर्वाचनलाई पार्टीको निर्वाचन जस्तो गराउन खोजियोः पराजुली



काठमाडौं, २८ फागुन । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो संगठन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसँग मिलेर संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी भएको बताएका छन् ।
‘१४ वर्षसम्म स्ववियु निर्वाचन भएको थिएन । हामीले आमरण अनशन बसेर स्ववियु निर्वाचन गर्न दबाब दियौं । अहिले हामीले स्थानीय कलेजहरुको सिफारिसमा सहकार्यको राजनीति अनुसार नेविसंघ र क्रान्तिकारीसँग मिलेर लडेका हौं । कतिपय कलेजमा एक्लै पनि लडेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पराजुली भने ।
अध्यक्ष पराजुलीका अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एक्लै लडेको छ भने आरआर, ताहाचल, शंकरदेव, सरस्वतीलगायत उपत्यकाका १०-१५ वटा आंगिक क्याम्पसमा तालमेल भएको छ ।
आरआर लगायत कतिपय कलेज प्रशासनले विद्यार्थीको निर्वाचन गराउनुपर्नेमा पार्टीको निर्वाचन गराउन खोजेको आरोप पनि उनले लगाए । पराजुलीले भने, ‘कतिपय कलेजमा भर्ना नै नभएको विद्यार्थीलाई मतदाता नामावली राखिएपछि असामान्य परिस्थिति निर्माण भएको छ । आरआर कलेजमा पूर्व स्ववियु सभापति नै निर्वाचन आयुक्त छन् । उनले बढीभन्दा बढी एमालेकरण गर्न खोज्दा समस्या आएको हो ।’



प्रतिक्रिया दिनुहोस्